बारा, माघ २ । माघे सङ्क्रान्तिको विशेष अवसरमा मंगलबार बारामा ठूलो मेला लागेको थियो । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिनुभयो ।
यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि आर्थिक अभावले बली चढाउन नसक्नेले आज बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो । “मंगलबार पनि श्रद्धालुले बोकाको बली दिनुभएको छ भने केहीले परेवा उडाएर भाखल पूरा गर्नुभएको छ”, उहाँले भन्नुभयो ।
मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताउनुभयो । भारतबाट आउने भक्तजनका लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वतावरण मिलाएको थियो ।
---