काठमाडौं, माघ ३ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बुधबार रातीदेखि देशको पश्चिम भू-भागबाट पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने सम्भावना रहेकोले बिहिबार राती सम्मको लागि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबार देखि मौसममा सुधार हुनेछ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।