मुम्बई, माघ ३ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । मुम्बईको बान्द्रास्थित उनको घरमा बिहीबार राति रातको साढे दुई बजे एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । चोरीको नियतले घरभित्र पसेका एक व्यक्तिले सैफमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
घटनाका क्रममा अभियुक्तले घरमा काम गर्ने कामदारसँग झगडा गरेको र सैफले हस्तक्षेप गरेर स्थिति सम्हाल्ने प्रयास गर्दा आरोपीले उनीमाथि चक्कु प्रहार गरेकाे बताइएकाे छ । सैफले उनलाई समात्न खोजेपछि आरोपीले उनीमाथि आक्रमण गरेका थिए ।
घटनाको समयमा सैफ अली खानकी श्रीमती करीना कपुर र उनका छोराछोरी तैमुर र जेह घरमा सुतिरहेका थिए । परिवारका अन्य सदस्यहरु पूर्ण रुपमा सकुशल छन् । सो झडपपछि अभियुक्त घटनास्थलबाट फरार भएका छन् ।
खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । अस्पतालकाे स्रोतबाट प्राप्त जानकारीका अनुसार सैफको नाडी, कम्मर र घाँटीमा पनि गहिरो चोट लागेको छ । उनको शल्यक्रिया भइरहेको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुम्बई प्रहरीले उनको घरमा काम गर्ने तीन जनालाई पक्राउ गरेर सोधपुछ भइरहेको बताइएकाे छ ।