काठमाडौं, माघ ३ । नेपाल राष्ट्र बैंकले नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र 'अनिवार्य' गरेपछि कतिपय बैंक तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई 'स्वघोषणा फारम' भराएर खाता खोलिदिन थालेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ। एकातर्फ केन्द्रीय बैंकको निर्देशन पालना गर्नुपर्ने र अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता खोल्नुपर्ने अवस्थामा "वैकल्पिक व्यवस्था" गरिएको विभिन्न बैंकका अधिकारीहरूले बताए।
सबै नागरिकहरूले राष्ट्रिय परिचयपत्र नलिएको अवस्थामा गरिएको यो व्यवस्थाले वित्तीय सेवा प्रवाहमा "थप झन्झट थपेको" भन्दै कतिपयले यसको आलोचना गरेका छन्। राष्ट्र बैंक र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारी चाहिँ "विद्युतीय सुशासनतर्फको कदम" भन्दै निर्णयको बचाउ गर्छन्।
सबै खातावाललाई अनिवार्य गरिएको हो?
राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार अहिले नै बैंक तथा वित्तीय संस्थाका सबै खातावालका लगि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन। तर माघ १ गतेपछि नयाँ खाता खोल्ने जोसुकैका निम्ति राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, "बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने छ।"
गत असार १० गते प्रकाशित राजपत्रको सूचनामा माघ १ गतेदेखि नेपालभरि "बैंकिङ तथा वित्तीय सेवासम्बन्धी" काम गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरिएको थियो। अधिकारीहरूले दिएको जानकारीअनुसार अब कुनै पनि एउटा बैंक वा वित्तीय संस्थामा खाता रहेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ।
पुराना खातावालले पनि अद्यावधिक गराउनु पर्छ?राष्ट्र बैंकले जारी गरेको निर्देशनमा पुराना खातावालले राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छैन। यद्यपि त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले 'केवाईसी' विवरण भर्दा अब राष्ट्रिय परिचयपत्र नम्बरलाई पनि आधार मान्न सकिने उल्लेख गरिएको छ।
त्यसमा भनिएको छ, "ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा… ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने छ।" तर उच्च पदमा रहेका राजनीतिज्ञ, पदाधिकारीहरू तथा उच्च तहका कर्मचारीहरूका लागि भने अब केवाईसी भर्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
त्यसका लागि विसं २०८१ माघ १ गतेसम्मको समय दिइएको भए पनि उक्त कार्य बल्ल सुरु भएको बीबीसीले कुराकानी गरेका विभिन्न बैंकहरूका अधिकारीहरूले बताएका छन्। निर्देशिकामा भने यस्तो व्यवस्था छ, "२०८१ माघ १ सम्ममा संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने छ।" (बीबीसी न्यूज नेपाली )