दाङ, माघ ३ । गत पुस २४ गते तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीय तिर्सना घर्ती मगरको मृत्यु भयो । बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो ।
दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले एक दिन तुलसीपुरमा बजार बन्द गराए । प्रहरी प्रशासन, यातायात व्यवसायी र पीडितपक्षबीच सहमति भएपछि मृतकका परिवारलाई सरकारले बिमाबापत उपलब्ध गराउँदै आएको रु पाँच लाख रकममा समितिले साढे दुई लाख रकम उपलध गराउने र मृतककी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पठाउने जिम्मा राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिले लिने सहमति भयो । उक्त दुर्घटनामा संलग्न बसका चालक हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन् ।
त्यस्तै गत कात्तिक २२ गते गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ज ४३८ नं को जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा भएको दुर्घटनामा परी चारजनाको घटनास्थमै मृत्यु भयो । सो दुर्घटनामा आठ जना गम्भीर घाइते भए । मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए ।
त्यसैगरी गत साउन १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नं को मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही ७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए ।
यी तीन वटै दुर्घटनामा प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटानाको मुख्य कारण यान्त्रिक गडबढी र चालकको कमजोरी भएको निष्कर्ष निकाल्यो । मोटरसाइकलले ठक्कर दिनुको कारण चालकले मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकाल्यो ।
चालु आर्थिक वर्षको पुससम्म जिल्लामा एक सय सात वटा सवारी दुर्घटनाका घटना घटेका छन् । ती सवारी दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो दुर्घटनामा परी ८० जना गम्भीर घाइते र ६४ जना सामान्य घाइते भएका छन् । गत आवको सोही अवधिमा जिल्लामा ६५ वटा सवारी दुर्घटनाका घटनामा २५ जनाको ज्यान गएको थियो । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेकामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्रयाक्टर सात जीप तथा कार चार छन् ।
त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, ट्रिपर दुई, माइक्रोबस चार, साइकलक पाँच, डोजर एक वटा अन्य वटा रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८÷८९मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको थियो ।
जिल्लामा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि लमही–भालुवाङ सडकमा टाइम कार्ड सुरु गरिएको छ । तर पनि सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् । अनुसन्धानका क्रममा दुर्घटना घटनुको प्रमुख कारणमा तीव्र गति, मादकपदार्थ सेवन नै रहेको छ । त्यसबाहेक चालकको लापरबाही, यात्रुको गल्ती, सडकको दूरावस्थाका, यान्त्रिक गढबढी पनि कारक हुने गरेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक शाहीले बताउनुभयो । (रासस)
---