काठमाडौं, माघ ४ । जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिनुभयो । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताउनुभयो ।
“विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो । कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेको छ ।
–––