नयाँदिल्ली, माघ १० । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ । देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भन्नुभयो, “मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।”
आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने तत्काल स्पष्ट भएको छैन । भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रुहरू रेलबाट ओर्लिएको’ बताएका छन् । “त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो”, प्रवक्ताले भने । भारतका गृहमन्त्री अमित शाहले ‘यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना’ व्यक्त गर्नुभयो ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले यो ‘दुःखद घटना’ ‘अत्यन्त विचलित पार्ने’ भएको बताउनुभयो । एक्समा उहाँले लेख्नुभएको छ, “यस दुःखद जनधनको क्षतिप्रति अत्यन्त दुःखी छु ।” भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ । तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ । सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेल ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो । दुर्घटनामा पटरीबाट खसेका डब्बाहरूले अर्को तीव्र गतिमा गइरहेको यात्रु रेललाई पनि ठक्कर दिएका थिए ।
दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।
मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।
---