बुटवल, माघ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस आज पनि जारी छ ।
बहसका लागि उनी आज पनि अदालतमा उपस्थित भएका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रविको थुनछेक बहस चलिरहेको छ । सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् भने प्रतिवादीको तर्फबाट झण्डै आधा दर्जन वकिलले बहस गर्नेछन् ।
निवेदकको तर्फबाट आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आरसी गौतमले बहस गर्नेछन् । यसपछि प्रतिवादीको कानूनी व्यवसायी टोलीले बहस सुरु गर्नेछन् । रवि लामिछानेको प्रतिरक्षा टोलीमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता सुशीलकुमार पन्त र रमण श्रेष्ठ, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई र सुरज बस्नेत छन् ।
दुवैतर्फको बहस सकिएपछि जवाफी बहस सुरू हुनेछ । त्यसपछि न्यायाधीशले रविलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्ने भन्नेबारे आदेश सुनाउने छन् ।