खोटाङ, माघ १३ । खोटाङ जिल्ला अदालतले मदन राईलाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालतले नाबालिगलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मदन राईलाई दोषी ठहर गरेको हो ।
शुभद्रा मदन फाउन्डेसनका संस्थापक राईमाथि फाउन्डेसनमा अध्ययनरत युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते फैसला सुनाएको हो । अब माघ २५ गते हुने सुनुवाइमा सजाय निर्धारण हुनेछ ।
२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । कृषि विज्ञका रुपमा परिचित राईले किशोर–किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंग छुन लगाउने गर्थे भन्ने किशोरीहरुको बयानसँगै भिडियो सार्वजनिक भएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।