भारत, माघ १६ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम किनारमा भागदौड मच्चिदा दर्जनभन्दा बढिको ज्यान गएको बताइएको छ ।
दैनिक भास्करका अनुसार मेलामा १४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपी, मृतक वा घाइतेको संख्याबारे प्रशासनले कुनै जानकारी दिएको छैन । भागदौडपछि मेलामा बनेको केन्द्रीय अस्पतालको अवस्था दयनीय बनेको छ । घाइते सबैलाई मेला क्षेत्रको केन्द्रीय अस्पतालमा भर्ना गरिएको छ ।
भागदौड भएको जानकारी पाएलगत्तै न्यायपालिकाका अधिकारीसहित उच्च अधिकारी घटनास्थल पुगेका छन् । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ । जानकारीका अनुसार मौनी अमावस्या स्नानका क्रममा दिउँसो १ देखि १ः३० बजेको समयमा संगम नोजमा भक्तजनको ठूलो भीडका कारण भागदौड मच्चिएको थियो । मौनी अमावस्याका अवसरमा बुधबार बिहानैदेखि महाकुम्भ मेलामा करोडौँ भक्तजनको भीड लागेको थियो । अमृत स्नान गर्न आतुर भक्तजनको भीड यति धेरै थियो कि हिँड्न पनि गाह्रो थियो ।
प्रयागराजमा हाल ८ देखि ९ करोड भक्तजन उपस्थित छन् । महाकुम्भमा मौनी अमावस्यामा अमृत स्नानको बढी महत्व हुन्छ । यस दिन नुहाउन देशैभरका भक्तजनको भीड लागेको छ । क्षमताभन्दा बढी संख्याका कारण उक्त हताहत भएको बताइएको छ । मध्यरातको करिब २ बजेपछि कुम्भमेला क्षेत्रमा लाउडस्पीकरबाट मन्त्र र श्लोकको निरन्तर गुञ्जिरहेको बीचमा संगमतर्फ भागदौड मच्चिएको थियो ।