उत्तर प्रदेश, माघ १७ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राती भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ६० जना घाइते भएका छन् । प्रशासनले भागदौडमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुने मध्ये २५ को पहिचान गरिएको छ, मृत्यु हुनेहरूमा १० यूपीका, २ कर्नाटकका, गुजरात र असामका एक-एक जना भक्तहरू छन् । भारत सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
महाकुम्भमा धेरै सडक निर्माण र फराकिलो बनाइए पनि ती सडकहरू अधिकांश समय बन्द राखिएको थियो । धेरै प्रमुख मार्गहरूमा ब्यारिकेडिङ गरिएको थियो । मानिसहरु धेरै हिँड्नु परेको थियो । संगम किनारामा पुगेर मानिसहरु थाकेर बसिरहेका थिए । त्यहाँ भीड बढ्दै गयो । यस अनुसार घाटमा रहेका केही ब्यारिकेडहरू भाँचिएकाले भुइँमा सुतिरहेका भक्तमाथि चढ्न पुगेका थिए । यसपछि अराजकता मच्चिएको थियो । यस्तो अवस्थामा भागदौड हुँदा मानिसले भाग्ने मौका पाएनन् ।
मौनी अमावस्याको दिन राति ८ बजेसम्म ७.६४ करोड भक्तजनले स्नान गरेका थिए । १३ जनवरीदेखि हालसम्म २७.५८ करोड भन्दा बढी मानिसहरूले महाकुम्भमा स्नान गरेका छन् ।