
काठमाडौं, माघ १८ । संघीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
अधिवेशनको उद्घाटन बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको संसदको दुवै सदनको प्रारम्भिक बैठकको एजेण्डा अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् ।
बैठकमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले आजको बैठकमा सुशासन र सार्वजनिक सेवा प्रवाहको प्रवद्र्धन सम्बन्धी केही नेपाल ऐन, २०८१ संशोधन गर्ने अध्यादेश पेश गर्नेछन् ।
यता विपक्षी दलहरुले संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने तयारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवदी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस र राजमोले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय लिएका छन् ।
संविधानको ११४ (क) मा अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ।