काठमाडौँ, साउन १८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज राजीनामा दिनुभएको छ ।
राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले केन्द्रीय सदस्य पदमा भने आफू यथावत् रहने समेत बताउनुभयो ।
पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिनुभएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताउनुभयो । उहाँले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गर्नुभयो ।
राईले एन्फा नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने बताउनुभयो । “एन्फाभित्र जुन शक्ति सङ्घर्ष चलेको छ, यसको समाधान देखिँदैन”, उहाँले भन्नुभयो, “चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ ।” अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै आएको छ ।
राईले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा समेत आपत्ति जनाउनुभएको थियो । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने एन्फाको निर्णय राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एन्फा कार्यसमिति बैठकमा सङ्घभित्रको समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट राई एन्फाको केन्द्रीय सदस्य जित्नुभएको थियो । अध्यक्ष शेर्पाले उहाँलार्ई एन्फा प्रवक्तामा नियुक्त गर्नुभएको थियो ।
(रासस)