काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । झण्डै १९ वर्ष नेपाली टिमबाट खेल्नु भएका खड्काले १० वर्ष कप्तानको भूमिका सम्हाल्नु भएको थियो । उहाँ नेपाली क्रिकेटले पाएको सफल कप्तान हुनुहुन्छ । नेपालले टी २० विश्वकपेदेखि लिएर एक दिवसीयमा डेब्यु पनि उहाँकै कप्तानीमा गरेको थियो ।
सामाजिक सन्जाल फेसबुकमार्फत उहाँले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो । पारसले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको पनि उल्लेख गर्नुभएको छ ।
सन् २००२ मा १५ वर्षको उमेरदेखि नै पारसले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरु गर्नुभएको थियो । १९ बर्ष नेपाली क्रिकेटमा रहनुभएका पारसले यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, आफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको पनि उल्लेख गर्नुभएको छ । टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । करिव डेढ दशकदेखि सिनियर टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नु भएको थियो । २०१९ पछि ज्ञानेन्द्र मल्ललाई कप्तानी सुम्पिएपछि खेलाडीको भुमिकामा उहाँ देखापरिराख्नु भएको छ ।
पारसको कप्तानीमा नेपाली क्रिकेटले सम्झन लायक उपलव्धिहरु हासिल गरेको छ । सन् २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन टू मा पुगेर सन् २०१४ मा ट्वान्टी-२० विश्वकपसमेत खेलेको थियो । नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पारसले नेपालले खेलेका सबै स्वरूपको क्रिकेटमा शतक पनि प्रहार गर्नुभएको छ ।
सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उहाँले क्रिकेट क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेबारीमा समेत वहन गर्नुभएको थियो । उहाँले १० एक दिवसीय क्रिकेट खेलेका पारसले ३१५ रन बनाउँदा उहाँको एउटा शतक र एउटा अर्धशतक रहेको छ । यसैगरी एक दिवसीयमा पाँच छक्का प्रहार गर्दा ४० चौका प्रहार गर्नुभएको छ । एक दिवसीयमा उहाँको सर्वाधिक स्कोर ११५ रन हो ।
यसैगरी उहाँले नेपालका लागि ३३ वटा टी २० खेल्दा उहाँले एक शतक र चार अर्धशतक बनाउँनु भएको छ । उहाँले टी २०मा २६ छक्का प्रहार गर्दा ८२ चौका प्रहार गर्नुभएको थियो । उहाँको टी २०मा सर्वाधिक नटआउट १०६ रन हो ।
यसैगरी राइट आर्म मिडियम फास्ट बलरको भूमिकामा पनि उहाँँले नेपालका लागि योग्दान गर्नुभएको छ । एक दिवसीय करियरमा उहाँले ९ विकेट लिनुभएको छ । उहाँको सर्वाधिक सफल स्पेल २६ रन खर्चिएर ४ विकेट रहेको छ । टी २० मा उहाँले ८ विकेट लिनुभएको छ । उहाँको सफल स्पेल ११ रन खर्चिएर २ विकेट रहेको छ ।
उहाँले अब नेपाल क्रिकेटको सिस्टमसंग जोडिएर काम गर्ने यस अघि बताउनु भएको थियो ।