काठमाडौं, फागुन ६ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
नेविसंघका विद्यार्थी नेताले प्रकृतिको न्यायको माग गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न तथा त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीको सुरक्षाको लागि समेत ध्यानाकर्षण गराएका छन् ।
बुटवलकी बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल सोही व्याचका भारतीय विद्यार्थी अद्विक श्रीवास्तबाट बारम्बार मानसिक यातना दिने गरेको बताइएकाे छ । प्रकृतिले क्याम्पसस्थित अन्तर्राष्ट्रिय विद्यार्थीले उजुरी शाखामा दुई पटक आफूलाई परेको मानसिक यातनाको विषयमा प्रमाणसहित जानकारी गराउँदा पनि कारबाही नभएकाे बताइएकाे छ ।
लम्सालको मृत्युपछि नेपाली विद्यार्थीले न्यायको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए । तर, उनीहरुको गुनासो सम्बोधन गर्नुको साटो विश्वविद्यालय प्रशासनले उनीहरुलाई होस्टेल खाली गर्न निर्देशन दिएको थियो । त्यसपछि झन तनाव बढेको थियो ।
सोहि घटनामा परेका एक विद्यार्थीले बताएका छन्, "आन्दोलनबाट छात्रावास फर्किएपछि छात्रावास सिल गरिएको थियो । त्यसको लगत्तै कलेजका डीन, सिभिल ड्रेस लगाएका प्रहरी अधिकारीहरू र स्थानीय गुण्डाहरूसहित ठूलो संख्यामा गार्डहरू होस्टेलमा पसे । जबरजस्ती नेपाली विद्यार्थीको कोठामा पसे, हामीलाई घिसारेर बाहिर निकाले र निर्ममतापूर्वक कुटपिट गरे, गाली गरे। अपमानजनक व्यवहार गरे । हामिलाई कुट्ने क्रममा उनीहरुले हामीलाई गाली र गाली गरिरहे । उनीहरूले हामीलाई जबरजस्ती बसमा चढाएर कलेजबाट ४० किलोमिटर टाढा लगेर कुटपिट गरिरहे। हामीलाई अलग-अलग, अज्ञात स्थानहरूमा छोडियो, हामी पूर्ण रूपमा असहाय भयौ" ।