काठमाडौं, माघ ७ । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने भएको छ ।
भारतस्थित नेपाली दूतावासले स्थानीय अधिकारी, सुरक्षा अधिकारी र कलेज प्रशासनसँगको सहयोगमा समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । छोरीको मृत्युको खबर पाएपछि उनका बुबा सुनिल लम्साल ओडिशा गएर मंगलबार उनले प्रहरी अधिकारीसँग भेटेका थिए । र छोरीको न्यायको लागि माग गरेका थिए ।
आइतबार दिउँसो होस्टेलको कोठामा मृत अवस्थामा फेला २० वर्षिया लम्साललाई न्याय दिलाउन माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । विश्वविद्यालय प्रशासनले आन्दोलनलाई दमन गरेको, हिंसाको सहारा लिएर विद्यार्थीलाई छात्रावासबाट निकालेको आरोप छ ।
घटनाको व्यापक आलोचनापछि केआईआईटीले केही कर्मचारीहरूलाई बर्खास्त पनि गरेको छ भने नेपाली विद्यार्थीलाई धम्की दिने विश्वविद्यालयकी प्राध्यापक मञ्जुषा पाण्डेले माफी मागेकी छिन् । यो सँगै ओडिशा विधान सभामा पनि प्रकृति मृत्यु प्रकरणको कुरा उठेको छ । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोपमा भारतीय प्रहरीले अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ ।