Kath khabar
नेपालको उद्योग क्षेत्रमा झन्डै २३ खर्ब लगानी प्रस्ताव

काठमाडौं, साउन १९ । मुलुकको उद्योग क्षेत्रमा स्वदेशी र विदेशीमार्फत् करिब २३ खर्ब लगानी प्रस्ताव आएको छ । ठूला, मझौला र साना गरी कुल ८ हजार ४ सय ५३ वटा उद्योग स्थापना गर्नका लागि स्वदेशी तथा विदेशीमार्फत् हालसम्म २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । सो प्रस्ताव उद्योग स्थापनासँगै ६ लाख २८ हजार ७ सय १२ जनालाई रोजगारी दिन समेत रहेको विभागमा महानिर्देशक जीवलाल भुसालले बताउनु भएको छ । पछिल्ला वर्षहरुमा मुलुकमा उद्योग लगाउने ट्रेन्ड (चलन)का कारण सो लगानी प्रस्ताव आएको उहाँको भनाई रहेको छ ।

त्यस्तै, विदेशी लगानीको हकमा भने हालसम्मे ३ खर्ब ६४ अर्ब ४६ करोड प्रस्ताव आएको छ । ५२ हजार ३३ वटा उद्योग र २ लाख ७४ हजार ७ सय ७४ जनालाई रोजगारी दिने दृष्टिकोणबाट सो लगानी प्रस्ताव आएको हो । विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मार्फत् नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी भित्राउने गर्छन् । विदेशी लगानी प्रस्तावलाई हेर्दा पनि सन्तोषजनक मान्न नसक्ने विभागको अधिकारीहरुको भनाई रहेको छ ।

पछिल्ला पाँच वर्षको परिपाटी हेदौ विदेशी लगानी सबैभन्दा धेरै ठूला उद्योगमा आएको विभागले जानकारी दिएको छ । पाँच वर्षको अवधिमा विदेशी लगानीका ५२ ठूला उद्योग मात्रै दर्ता भएका छन् । जसमा कुल ७७ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ वैदेशिक लगानी प्रस्ताव गरिएको छ । सोहि अवधिमा विदेशी लगानीका १३ सय ४२ वटा साना उद्योग दर्ता भएका छन्, जसमा ६० अर्ब ६१ करोड ८८ लाख रुपैयाँ र १ सय ५२ वटा मझौला उद्योग दर्ता भएका छन्, जसमा कुल २८ अर्ब ७९ लाख रुपैयाँ वैदेशिक लगानी प्रस्ताव गरिएको छ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा लगानी प्रतिवद्धता ४ खर्बले कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ५२ अर्ब र आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ५६ अर्ब लगानी प्रतिवद्धता आएको छ। ठूला, मझौला र साना गरी आर्थिक वर्ष २०७६/७७ मा २ सय ७७ वटा र आर्थिक वर्ष २०७७/७८ मा २ सय ३ वटा उद्योग स्थापना गर्न प्रतिवद्धता जनाएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीतर्फ भने ५ अर्ब ६० करोडले कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३७ अर्ब ८० करोड र आर्थिक वर्ष २०७७/७८ मा ३२ अर्ब २० करोड विदेशी लगानी प्रस्ताव आएको छ। आर्थिक वर्ष २०७६/७७ मा  २ सय २३ वटा र आर्थिक वर्ष २०७७/७८ मा १ सय ८३ वटा उद्योगका लागि सो लगानी प्रस्ताव आएको हो ।

औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका लघु तथा घरेलुबाहेकका उद्योग साना उद्योग हुन् । १५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग मझौला उद्योग हुन् । ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग ठूला उद्योग हुन् । हाल नेपालमा विदेशी लगानीका लागि न्यूनतम सीमा ५ करोड तोकिएको छ । अधिकतम लगानीका लागि भने सीमा निर्धारण गरिएको छैन । विभागका अनुसार उद्योगमा सबैभन्दा बढी लगानी प्रस्ताव भारत र चिनियाँ तथा अमेरिका र युरोपेली मुलुकबाट आउने गर्छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update