Kath Khabar
बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

                      ढोरपाटन (बागलुङ), फागुन १२ । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप आज साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।

जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।  

दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताउनुभयो । दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए ।  जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । (RSS)
---

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update