Kath Khabar
कानूनी शिक्षामा तुलसीपुर मेट्रो कलेजको अग्रसरता

                   

                  दाङ, फागुन १३ । उच्च तहको कानूनी शिक्षामा तुलसीपुर मेट्रो कलेजले नमुना कार्यहरु गरिरहेको छ । 

स्थानीय स्तरमै उच्च गुणस्तरको कानूनी शिक्षा प्रदान गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले सञ्चालन गरेको यस कलेजमा विद्यार्थीहरुले नियमितरुपमा विभिन्न गतिविधिमा सहभागीता जनाइरहेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कानूनी शिक्षा पूर्णत: प्राविधिक भएको हुँदा विद्यार्थीहरुलाई अध्ययन कै क्रममा कलेजले विभिन्न खालको अभ्यास गराउँदै आएको छ ।

यसैबिच कलेजमा छैठौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले जिल्ला स्तरीय मुटकोर्ट प्रतियोगिताको आयोजना गरेका छन् । जिल्लाभित्र रहेका कक्षा ११ र १२ मा कानून विषय अध्यापन गराउने विद्यालयका १२ वटा समुहले भाग लिएका थिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा हिमाल एकाडेमी तुलसीपुर बिजेता  र मावि रझेना उपबिजेता भएका थिए । उनीहरुलाई ट्रफी सहित क्रमशः १५ हजार र ७ हजार नगद पनि प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट वक्ताका रुपमा मावि रझेनाकी सुस्मिता श्रेष्ठ रु ५ हजार सहित पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख टिकाराम खड्काले कानूनी क्षेत्रमा नयाँ पुस्ताहरु लोभलाग्दो तरिकाले आएको बताउनुभयो । उहाँले कानून क्षेत्रमा लागेका व्यक्तिहरुले सामान्य त्रुटी पनि गर्न नहुने भन्दै गलग गर्नेलाई सजाय र नगर्नेलाई उन्मुक्ति दिनुपर्नेमा जोड दिनुभयो ।

उच्च अदालत तुलसीपुरका उपन्यायाधिवक्ता  जयप्रसाद धितालले विद्यार्थीको बहस गर्ने क्षमताको प्रशंसा गरेका थिए । वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले नयाँ पुस्तामा अध्ययनको दायरा फराकिलो हुँदै गएको बताउनुभयो ।

सो अवसरमा न्यायिक समिति सदस्य देवी पोख्रेल,कानून संकाय संयोजक विजय पोख्रल लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यार्थी छविन रावतको अध्यक्षातामा भएको कार्यक्रमको सहजिकरण हसिला बुढामगरले गर्नुभएको थियो ।
                        

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update