Kath Khabar

              काठमाडौं, फागुन २८ । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले दुवै सदनको बैठक नभएका बेला कानुन अत्यावश्यक भएकाले अध्यादेशहरु ल्याउनुपरेको बताउनुभयो ।

मन्त्री गुरुङले कुनै पनि आग्रहले सोचाइको क्षितिजलाई साँघुरो बनाउने उल्लेख गर्दै भन्नुभयो, “अध्यादेश भन्ने वित्तिकै विरोध गर्नु भनेको एकाङ्की विचार हो । त्यसको विषय वस्तुमा जानु उपयुक्त हुन्छ ।”

उहाँले सांसदका विचारको आफूले सम्मान गर्ने उल्लेख गर्दै सांसदहरुलाई रचनात्मक ढङ्गले सोच्न आग्रह गर्नुभयो । सरकारले विधेयक ल्याउने विषय संविधानसम्मत नै रहेको बताउँदै मन्त्री गुरुङले विधेयक पारित गर्नका लागि सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

यसअघि बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो ।

सांसदहरु प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गा राईबाट प्राप्त विरोधको सूचनाहरुलाई बहुमतले अस्वीकृत गरेको हो ।

गणतन्त्र र संविधानलाई रक्षा गर्न सांसदको आग्रह
काठमाडौँ, २८ फागुनः  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिनुभएको छ । उहाँहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाउनुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको जनाउँदै सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्छ भन्नुभयो । सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै राजतन्त्र पुनःस्थापना गर्ने दिवासप्न नदेख्न चुनौती दिनुभयो ।
 
सांसद हितराज पाण्डेले बाख्रापालक किसानले उचित मूल्य पाउन नसकेको, पशु बीमाको प्रभावकारी कार्यान्वयन, दानाको मूल्य नियन्त्रण, घाँसको उचित प्रबन्ध तथा खसीबाख्राको चोरी पैठारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुहाङ नेम्वाङले पूर्वी पहाडी क्षेत्रका दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढवा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिनुभयो । सांसद सुरेन्द्र आचार्यले सुक्खायाममा देशव्यापीरुपमा हुनसक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वच्छ पिउने पानीको उचित प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभयो । सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्न, बड्डीचौर–खम्बागाडे सडकको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गर्नुभयो ।

सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दशगजा क्षेत्रमा बसोबास गर्ने जनताको समस्यमा समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराउनुभयो । सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
–––

 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update