Kath Khabar
आज फागु पूर्णिमा अर्थात् होली पर्व, हर्षोल्लासपूर्वक मनाइँदै

                 काठमाडौं, फागुन २९ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भन्नुभयो । उहाँले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
    
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । (RSS)
---

 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update