Kath Khabar
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

                     काठमाडौं, चैत १ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताउनुभयो ।

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुुनुहुन्थ्यो ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।


प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ  एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको  कथा भन्छ,” स्रष्टा क्षेत्री र उहाँको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ ।  (रासस)

 

–––

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update