Kath Khabar
२५ करोड  भन्दा बढि बराबरको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक

                         काठमाडौं, चैत ५ । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामा रहेका छन् । ना७ख १६५१ नंको मालवाहक ट्रकका चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाईछिपाई ल्याएको अवस्थामा लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको हाे । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।

ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले मङ्गलबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको थियाे । बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । लामा यस अघि पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेको बताइएको छ । उक्त रकम लगेर उनी केरूङतर्फ जान लागेको प्रहरीको भनाइ छ।
       
बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update