Kath khabar
चन्दा र चुनावमा पिल्सिएको भोगाइ

काठमाडौं, साउन २१ । तिथी मिति यकिन भएन नेपालमा पछिल्लो आम चुनावको चहलपहल थियो । उतिबेला एमाले, माओवादी र काङ्ग्रेस तीन मुख्य प्रतिस्पर्धी थिए । अझै पनि चुनावी खर्चको लागि विदेशमा रहेका पार्टी कमिटीहरुसंग आर्थिक राहत मागिन्छ र जिम्मेवार पदमा बसेकाहरुले पठाउँछन् वा पठाउँनै पर्छ ।

त्यही बेलाकै सेरोफेरोमा चुनाव अगाडि एकदिन मोबाइल फोनको घण्टी बज्यो । उही चीर परिचीत आवाज।

हेलो ! भाइ नमस्कार !

नमस्कार दिदी।

लौ नेपालमा चुनावको लागि पार्टीको विदेश विभागबाट आर्थिक सहयोगको माग आएको छ हङकङका कमरेडहरू लाई । तपाईंको नाममा कति राखिदीउ ?

मैलै भने पटक पटक सरकारको साँचो मूचो हातमा लिएका कमरेडहरु र पार्टी आर्थिक रूपमा सबल छन् त। अब पनि विदेशमा बसेर दुःख गर्नेहरुसंग चन्दा उठाउन छाडे हुदैँन र लेभी अझै उठाइन्छ रे। अझ भ्रष्टाचारका यत्रा यत्रा समाचारमा पार्टीकै मान्छेहरुको नाम सुनिन्छ मुछिन्छ त।

दिदीले सधैं झैं जोशिलो स्वरमा भन्नुभयो ।

केही एकाध मान्छेहरुको नाम मुछिएपनि वा गलत गरे भन्दैमा हाम्रो सिङ्गो गौरवशाली पार्टीलाई त्यस्तो आक्षेप लगाउन हुदैँन नी कमल भाई तपाईं जस्तो बुझेको मान्छेले।

होला दिदी, म त कुनै राजनीतिक पार्टीको सदस्य पनि हैन । आजकलको राजनीति देखेर त सार्है बितृष्णा पो लाग्छ । यो पार्टीसार्टीहरू लाई भन्दा बरु नेपालमा कुनै गरिव गुरुवाहरुलाई आफ्नै हातले लगेर दियो भने धर्म होला बरु।

'हङकङमा एउटा त रेष्टुरेन्ट ब्यवसायी, सबै सङ्ग सम्बन्ध सद्भाव राख्नैपर्यो । त्यसमाथि पनि दिदीकै अगुवाईमा रेष्टुरेन्टमा विभिन्न कार्यक्रम सभा समारोह हुने भएकोले पाँचसय डलर राखिदिनुस् न त' मैले भने ।

कहाँ हुन्छ भाई तपाईं जस्तो हङकङको पहिलो नेपाली संस्था 'फिओना' को संस्थापक अनि ब्यवसाइले त्यति दिएर । एकहजार डलर त कन्ट्रक्सनमा काम गर्ने भाईहरुले पनि स्वेच्छाले दिइरहेका छन् । लौ एकहजार नै राखिदिए मनले जितेर । हाम्रो पार्टीलाई चुनावमा जसरी भए पनि एक नम्बरमा ल्याउनु पर्छ भन्दै फोन राखिन् ।

यी दिदीको बोलिमा आत्मविश्वास, पार्टी प्रतिको इमान्दारिता र जोश सुनेर खुशी र नरमाइलो दुवै लाग्यो । खुसी यस मानेमा हङकङमा एमाले पार्टी राजनीतिमा आवद्ध यी दिदीको जोश, विश्वास पार्टी प्रती सकारात्मक इमान्दारीता यथावत् छ जहिल्यै। दुःख यस मानेमा नेताहरु पनि यि दिदी जत्तिकै नैतीक र आर्थिक मामिलामा देश, पार्टी र जनताप्रति इमान्दार बफादार भइदिएको भए देश कस्तो हुन्थ्यो होला ?

यस्तै अर्को ठूलो नेपालको राजनीतिक पार्टीको लगभग धेरैनै कार्यक्रम कङ्गन रेष्टुरेन्टमा हुँदा यो कङ्गन हैन काङ्ग्रेस रेष्टुरेन्ट भन्नुपर्ला अब भनेर हाँसो गर्छु म । हुनपनि संयोगले यो पार्टीका धेरै केन्द्रीय नेता तथा म संग भेटघाट हुँदाका पूर्व प्रधानमन्त्री र मन्त्रीहरुका तस्बिरहरु रेष्टुरेन्ट को फोटो ग्यालरीमा देखेर मलाई पनि यो पार्टीको होला भनेर लख काट्छन् कतिले त। यो पार्टीमा आस्था राख्ने मित्रहरुको पनि चुनाव आएपछि हङकङबाट आर्थिक जोहो पठाइदिने हल्लाखल्ला हुन्छ । किन हो कुन्नि उनिहरुले चाहिँ म सङ्ग माग्दैनन कहिल्यै। तर पनि दिनभरि १२/१४ घण्टा काम गर्ने युवाहरु मूठी खोलेरै सहयोग गर्छन् पार्टीलाई पर्दा । अझ नेतागणहरु हङकङ आउँदा होटलको बसाइँ, खान पिन, घुमफिर र प्रायोजन गर्ने मनकारी मनहरू धेरै छ्न् यो पार्टीमा । अझ कतिले त गरूङ्गा उपहार समेत किनेर दिन्छन् ।

त्यसै अर्को एकदिन चीर परिचीत तर कहिल्यै फोन नगर्ने एकजना मित्रको फोन आयो । शुरुमै भने, 'कमलजी लौ..... कमरेडले तपाईंलाई सम्झनुभएको छ ।' हं ? मेरो चिनजान त छैन् किन कसरी सम्झिनु भएछ ? हङकङ आउनुभएको हुनसक्छन् वा पिताजीलाई चिन्नुभएको होला । सोचमग्न भए एकछिन्।

अनि उहाँले कुराको पन्तुरो खोल्दै भन्नुभयो, 'जनजाति, मधेसी, महिला, दलित गरीव किसान सर्वहाराको हक हितको लागि अब यी अरू पार्टीबाट सम्भव छैन। अर्को क्रान्ति गर्नुपर्ने भयो।'

फेरी उही पुरानो प्रयोग गरिसकिएको खासगरी चुनाव ताका मात्रै जनताहरुलाई आश देखाउने खासगरी वामपन्थीहरूको डेट एक्सपायर रटान यी कमरेडले पनि कण्ठै गरेछन्, भन्ठाने मनमनै।

मैले भने, 'पहिलो गणतान्त्रिक राष्ट्रपति मधेसी मूलका, अहिलेकी राष्ट्रपति महिला त्यो पनि दोस्रो पटक पनि तारतम्य मिलाएर पड्काइन, जनजाति मूलका सभामुख भैसके, गुरूङ मूलका प्रधानसेनापति भैसके । मन्त्रीमण्डलमा भागबण्डा र देखावटी समावेशीताकै लागि भने पनि दलित, महिला, जनजाति, मधेसी सबै छन् त।'

उहाँले भन्नुभयो, 'एकाधा मान्छेलाइ टिपेर लगिए पनि आम जनताले हक अधिकार पाएनन्। अब अन्य पार्टीहरुबाट गणतान्त्रिक छलाङ मार्न नसकिने भएकाले हाम्रो पार्टीलाई जिताउन आर्थिक सहयोग चाहियो । पछि थाहा भयो, यी कमरेडले हङकङमा अरू धेरैलाई पनि त्यही भनेर फोन गर्नुभएको रहेछ।

दुई बर्ष अगाडि पुनः सशस्त्र क्रान्ति गर्ने भन्दै भुमीगत भएका यीनका नेता केही महिना एकास्सी बालुवाटार मा प्रकट भएका थिए। पुर्व प्रधानमन्त्री खड्ग प्रसाद वलीसंग तीन बुँदे सही गरेर एउटा गणतान्त्रिक छलाङ्ग मारे अब कति कहाँ कहाँ मार्ने हुन् हेर्न बाँकी छ। जे होस्, सानै रूपमा भएपनि फैलिएको हिंसा, हत्या,चन्दा आतंक असुलीबाट भने जनताहरुले राहत पाउने भए अब।

अझ मूल कुरा बन्दूक लाई बन्दूकले नै तहलाउनी सरकारी निर्णयले निकै सकस खेपिरहेको यो भुमीगत पार्टीलाई सुरक्षित अवतरण गराउन यी नेता आत्तिएका थिए । दोस्रो अहिलेको राजनीतिक बबण्डर र रडाँकोमा मैले गर्दा यो भएको भन्ने काम देखाउन खड्ग प्रसाद वली पनि आतुर हुनुहुन्थ्यो । उही नेपाली उखान जस्तै बिरामीले खोजेको नी तातो पानी बैद्यले बताएको तातोपानी।

 एमालेबाट अलगिएर संघिय समाजवादी हुदैं अहिले जनता समाजवादी भएको पार्टीले पनि मासिक लेभी र वार्षिक सदस्यता नवीकरण आदि इत्यादिको एकमुष्ट रकम केन्द्रमा पठाइने गरेको रहेछ हङकङ बाट । अझ चुनाव खर्चको लागि भने छुट्टै स्वेच्छीक सङ्कलन गरेर पठाइने गरेको बताउँछन् पार्टीका एक भुक्तभोगी।

यी बाहेक आफूहरुलाई हङकङमा नेपालको राष्ट्रवादी पार्टीको प्रतिनिधि भन्ने रूचाउने युवा हरु सानै संख्यामा भएपनि सक्रिय छन् । उनीहरूकै संस्थागत र शुभचिन्तकहरु बाट मात्र सहयोग स्वरुप सङ्कलन भएको नोटको बिटो केन्द्रीय नेतालाइ यहाँका अगुवाले हस्तान्तरण गरेको सामाजिक सञ्जालमा बकाइदा आयो त्यही समयको सेरोफेरोमा।

हङकङमा चन्दा बारेका यी प्रतिनिधि उदाहरण कुनै कसैप्रति गुनासो वा उजुरी हैन प्रसङ्ग बस आएको हो। माथि नै भनिए जस्तै जुन एउटा पार्टीले या ठूलै नेताले आह्वान गरेपछि पार्टीमा आवद्ध भएकाले नाइ भन्न सक्दैनन्।

भन्न खोजिएको चाहिँ हङकङ मात्र नभएर संसार भरकै राजनीतिक पार्टीका अगुवा र आस्था राख्ने हरुले यति दु:ख गरेर कमाएको रकम सदुपयोग होला त ? भनेर सैधियो भने सबैले मनले नभए नि मुखले चाहिँ अरूको थाहा भएन हाम्रो पार्टीको चाहिँ हुन्छ भन्लान् सायद्।

समग्र देशका सबै पार्टीका राजनेताहरुको नाम लिने हो भने केही कहिँ खुल्लम खुल्ला कहिँ लुकि छिपी आर्थिक मामलामा चुकेको जगजाहेर छ। अझ भ्रष्टाचारमा संख्यात्मक अङ्क दिने हो भने पास मार्क तीस देखि सय अङ्क सम्म ल्याउने एक से एक राजनेताहरू को हालीमुली छ देशमा अझै। यसमा केही अपवाद भने अवस्य छन्।

राजनीतिक पार्टीका भातृ संस्थाहरु बाहेक हङकङमा अन्य शीर्षक वा बहानामा चन्दा, प्रायोजन, सहयोग माग्नेहरूको कथा तीर लागियो भने लेख लामो हुनसक्छ । हङकङमा चन्दा त्यस बारेमा यौटा छुट्टै लेख पछि लेख्ने सोचमा छु ।

प्रसङ्ग बदलौँ।

मसालको 'स' पातलो 'स' वा मोटो 'श' कुन लेख्ने देखि रूस, चीन, क्यूबा, उत्तर कोरिया, र त्यहाँका नेताहरु देखि आदि इत्यादिलाई हेर्ने दृष्टिकोणमा फुट्दो जुट्दै गर्ने बामपन्थी पार्टीहरूको इतिहास सबैलाइ थाहा भएकै कुरा हो, पछिल्लो चुनावी तालमेल देखि पार्टी एकताले सबै खुशी र हौसिएका थिए । दुई-तिहाईको बहुमत प्राप्त सरकारले अब भने देशमा पक्कै राम्रो होला भन्ने सबैको आश थियो। पुष्पलाल श्रेष्ठ देखि पुष्पकमल दाहाल सम्म आइपुग्दा देशले जनताले गरेको ठूलो आशा चरम निराशामा परिणत भयो हालसालै। संयोगले पार्टी एकता हुँदा कङ्गन रेष्टुरेण्टमै भएको सामूहिक द्वीप प्रज्वलन कार्यक्रम देखि नेकपा हङकङको सायद अन्तीम दशैं तिहार जलपान कार्यक्रममा म पनि रमिते थिएँ।

शुरुको जोश आत्मियता पछिल्लो समय सम्म वैलाएको महशुस गरे धेरै सहभागीले त्यो दिन। अन्तत्वगोत्वा जे होला भन्ने सोचिएको थियो त्यही भयो । जब नेपालमा पार्टी फुट्यो तब सामाजिक सञ्जालमा खुल्लम खुल्ला पक्ष बिपक्ष आरोप प्रत्यारोपको जुहारी शुरु भयो । आफ्नालाइ देवत्वकरण र बिरोधीलाइ दानवीकरण गर्ने प्रतिस्पर्धाले उच्चतम बिन्दु छोएको छ आजकल।

मेरा केही लेख र बिचारलाई आफूअनुकूल हुँदा प्रसंसा गर्ने र अनुकूल नहुँदा यस्तो अलि नलेखेको भए हुन्थ्यो भनेर मन दुखाउने पाठकहरु निकै छन्। यो सबै हेरेर मलाई भने एउटा प्रसङ्गको याद आयो।

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि अमेरिका भ्रमणमा थिए एकपटक। पत्रकारहरू सङ्ग एउटा अन्तरक्रिया कार्यक्रम थियो । सीयनयनका पत्रकारले उहाँलाई प्रश्नगर्नुभयो, 'मिस्टर प्रेसिडेन्ट योर होल लाइफ यू फाइट फर ह्युमन राइट एण्ड डेमोक्रेसी । बट ह्वाइ यु स्टील ह्याब रिलेसन वीथ यासेर अराफात, फिडेल क्यास्ट्रो एण्ड कर्नल कद्दाफी ?

आफ्नो फायदा र स्वार्थ नमिल्ने बित्तिकै मानव अधिकार र प्रजातन्त्रको खोचे थाप्ने अमेरिकी नितीको वकालत गर्ने ती पत्रकारलाइ नेल्सन मण्डेलाले भन्नुभयो, 'वन अफ द मिस्टेक्स ह्वीच सम पोलिटिकल एनालिस्ट मेक इज टू थिङ्क द्याट देअर इनिमीज सुड बी आवर इनिमीज।'

केही राजनीतिक बिश्लेषकहरु एउटा के गल्ती सोच्छन् भने उनीहरुको शत्रु पनि हाम्रो शत्रु हुनै पर्छ। विदेश बसेपनि देशलाई माया गर्ने राजनीतिक चेतना भएका हामीहरु कतै देशको समग्र राजनीतिक परिस्थिति बिश्लेशण गरेर को सहि को गलत या दुवै गलत यो यो कुरामा यो यो नेताहरु सुध्रिन जरुरी नभनी नेताहरु सङ्गको ब्यक्तीगत चिनजान, इगो, स्वार्थ वा फायदा लागि हामी कतै एक आपसमा जुहारी खेलिरहेका त छैनौं ?

(लेखक हङ्कङका ब्यवसायी हुनुहुन्छ ।)

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update