नेपालगञ्ज, १० चैत : बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।
घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताउनुभयो । “घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ”, उहाँले भन्नुभयो ।
---