Kath Khabar
चन्द्रवीरले खनेको त्यो बाटो...


                     तुलसीपुर (दाङ),चैत ११ । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खन्नुभयो । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खन्नुभएका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खन्नुभएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।  

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खन्नुभएको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खन्नुभएको हो । “श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”, उहाँले भन्नुभयो, “श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

उहाँका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्नुहुन्छ, अन्य तीन छोराले आँखा देख्दैनन् ।

अहिले उहाँका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्नुहुन्छ, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्नुहुन्छ । कान्छो छोरा काठमाडौँमै हुनुहुन्छ, उहाँले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्नुहुन्छ । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन्  । त्यही सहयोगबाट उहाँको दैनिकी चलेको छ । “कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।” (RSS)
---

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update