Kath Khabar
लौका बेचर मासिक ४० हजार आम्दानी

मङ्गलबारे (इलाम), १२ चैत | जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । 

    भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।

    भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।

    उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ ।   

    भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।

    लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ ।

    “दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।

    उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।


    भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

    दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो ।   

    आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ । 

    एउटै लौकाको पाँच हजार

    भण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो । 

    “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update