Kath Khabar
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा शपथग्रहण

                          काठमाडौं, चैत १२ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिनुभएको छ । उहाँलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शपथग्रहण गराउनुभएको हो ।

शाक्य नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।

शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवं ग्राहकलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिनुभयो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशनसमेत दिनुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिनुभयो । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
---

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update