
लन्डन, चैत १४ । इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । इजीएसएले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ‘एक्युमार’ उपग्रह प्रविधिमा विशेषज्ञता हासिल गर्ने इजिप्टियन कम्पनी हो ।
विज्ञप्ति अनुसार, सोमबार हस्ताक्षर गरिएको प्रोटोकलले इजिप्टमा उपग्रह र तिनका कम्पोनेन्टको उत्पादनमा सहयोग अभिवृद्धि गर्नुका साथै उपग्रहहरूको वातावरणीय, मेकानिकल र विद्युतीय परीक्षणका लागि इजीएसएको उन्नत पूर्वाधारको प्रयोग गर्ने लक्ष्य राखेको छ ।
इजीएसएका प्रमुख कार्यकारी अधिकृत शेरिफ सेड्की र एक्युमारका प्रमुख कार्यकारी अधिकृत अहमद नसारले प्रोटोकलको हस्ताक्षर समारोहमा भाग लिनुभयो । यसलाई इजीएसएले ‘अन्तरिक्ष क्षेत्रमा इजिप्टका अनुसन्धान संस्था र प्रविधि कम्पनीहरू बीच एकीकरणको नयाँ मोडेल’ भनेको छ ।
प्रोटोकलमा उपग्रह सञ्चालनमा सहयोग, वैज्ञानिक तथा प्राविधिक विशेषज्ञताको आदानप्रदान र स्याटेलाइट सञ्चारका लागि फ्रिक्वेन्सीहरू पनि समावेश छ । यो साझेदारीले इन्टरनेट अफ थिङ्ग्स सेवा, दूरसञ्चार र पृथ्वी इमेजिङका लागि उपग्रह विकास महत्वाकांक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
---