Kath Khabar
एभिन्यूजका क्यामेरा पर्सन रजकको मृत्युप्रति महासङ्घद्वारा दुःख व्यक्त

                      काठमाडौं, चैत १५ । नेपाल पत्रकार महासङ्घले राजसंस्थाको पुुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार सङ्कलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ ।

पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर मृत्यु भएको हो ।

महासङ्घले आज प्रेस विज्ञप्तिमार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।

आगो लगाइएको भवनको समाचार सङ्कलनका क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ ।

“प्रदर्शनकारीको समूहले काठमाडौँस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको छभने कान्तिपुर टेलिभिजनको भवनमा जबर्जस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सृजना गरिएको छ । यस्तै, हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको”, महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासचिव दाहालले बताउनुभयो । क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन महासङ्घले सबैलाई आग्रह गरेको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update