काठमाडौं, चैत १६ । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले शुक्रबार भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदर्शनको क्रममा आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुङ्गामुढा गरिएको, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहमा गरिएको आक्रमण अमानवीय र गैरकानुनी भएको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
सो घटनाको आवश्यक छानबिन गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी सो घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य उपचारको आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बताउनुभयो । घटनामा परी निधन भएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
त्यसैगरी सरकारले म्यानमारलाई केन्द्रबिन्दु बनाई म्यानमार र थाइल्याण्डमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
---