Kath Khabar
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

                   काठमाडौ, चैत १७ । सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ ।

विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो ।

गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ ।

सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ ।

चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो ।    “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो ।

गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो ।

सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो ।

“मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ ।  

अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।”

चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । (रासस)
---

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update