काठमाडौ, चैत १७ । तीनकुने घटनापछि फरार भएका दुर्गा प्रसाईँले आफू नभागेको बताएका छन् । एक भिडियो सन्देशमार्फत प्रसाईँले आफू भागेको नभई ज्यान मार्ने षड्यन्त्रको कारण सुरक्षित स्थानमा बसेको दाबी गरेका छन् ।
तीनकुने घटनामा आफूलाई गोली हान्ने अवस्था देखेपछि आफू सुरक्षित रहनका लागि काठमाडौँकै कुनै एक मन्दिरमा बसेको प्रसाईँले बताएका छन् र चैत १५ गते भएको घटनाप्रति प्रहरीसँग माफी पनि मागेका छन् । ‘मान्छेका घरमा आगो लगाउने, तोडफोड नगर साथीभाइ हो भनेर मैले भनेको छु, तर जुन घटना भएको छ त्यसमा दुस्ख व्यक्त गरेको छु’ उनले भिडियोमा भनेका छन् ।
"मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ", उनले भने ।
‘प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ, म भाग्दिनँ बरु तपाईंहरुकै अगाडि मर्छु ।’ उनले भिडियोमा भनेका छन् ।
शुक्रबार अपराह्नदेखि प्रसाईं फरार छन् । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन्।