
काठमाडौ, चैत १७ । प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ ।
आज एभिन्यूज टेलिभजनको केन्द्रीय कार्यलयमा आयोजित ‘शोकसभा’मा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उहाँका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।
शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनकोे पनि मृत्यु भएको थियो । प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रदर्शनकारीले नौवटा सरकारी सवारीसाधन, छवटा सरकारी वा निजी नखुलेका सवारीसाधनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौवटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए ।
रजकको परिवारलाई एक लाख सहयोग
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उहाँले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गर्नुभयो ।
साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा दीक्षितले सरकारसँग आग्रह गर्नुभयो । सरकार सबैको अविभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
---