Kath Khabar
मुस्लिम धर्मावलम्बीहरूले आज ईद पर्व मनाउँदै, देशभर सार्वजनक बिदा

                    काठमाडौं, चैत १८ । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईद मुस्लिम धर्मावलम्बीहरूले मनाउने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । महिनाभरी व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै ईद पर्व मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामी परम्परा छ । रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । नेपालमा हिन्दु धर्मावलम्बीहरुले मनाउने बडा दशै जस्तै मुस्लिम समुदायहरुले मनाउने ठुला पर्व हो ईद । यस दिन नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मनाउने चलन रहिआएको छ ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

 

 

---

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update