
काठमाडौं, चैत १८ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्कनुभएको छ ।
रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसिरहेकोे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ । सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन÷महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग हुनुभएको थियो । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
---