काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उहाँले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । उहाँले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी हुनुहुन्थ्यो ।