Kath Khabar
सांसद पद निलम्बन फुकुवाको अनुरोध गर्न सभामुखको कार्यालय पुगे रवि लामिछाने

                            काठमाडौं, चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको अनुरोध गर्दै सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

एक महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । सो पत्रको सुनुवाई नभएपछि आज पुनः निलम्बन फुकुवाको लागि दबाव दिनको लागि सभामुखलाई भेटेका हुन् ।  लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुखलाई आग्रह गरेका छन् ।

सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका लामिछाने सोमबारदेखि  सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।

उक्त भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सोविता गौतम, अशोक चौधरी, शिव नेपाली, डा तोसिमा कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । सांसदलाई मुद्दा पर्नासाथ पद निलम्बन गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै उहाँहरुले यस विषयमा थप छलफलका लागि सभामुख घिमिरेसँग आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update