
काठमाडौं, चैत २४ । प्राचीन स्मारक संरक्षण अध्ययन समाजले जनबहा द्य: (सेतो मछिन्द्ननाथ) जात्राको डकुमेन्ट्री सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्धारा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गुठी संस्थानका प्रमुख शैलेस राज कुंवर, जनबहा द्यः जात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा मुल पुजारी निल काजी शाक्य, व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्य, उप-संयोजक गणपति लाल श्रेष्ठ, उपसमिति संयोजकहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो । सिद्धार्थ महर्जनको छायांकन तथा सम्पादन रहेको डकुमेन्ट्रीमा ग्लोबल ग्रिनग्रान्ट फण्डको सहकार्य रहेको छ ।
पुर्खाहरुले सुम्पेर गएका सांस्कृतिक धरोहरहरुलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानु पर्ने र यसको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्ने यस डकुमेन्ट्रीको उद्धेश्य रहेको प्राचीन स्मारक संरक्षण अध्ययन समाजका अध्यक्ष सुदन मान मुनिकारले बताउनु भयो ।
"आर्यावलोकितेश्वर करुणामय (जनबहा द्यः) नेवाः समुदायको मात्र नभइ नेपालकै महत्वपुर्ण सांस्कृतिक धरोहर हो । यस्ता संस्कृति, संस्कार, जात्रा, पर्वहरु नै नेवाः सभ्यताको मुल आधारशीला हुन् । जसरी परापुर्वदेखिका यस्ता मूर्त-अमूर्त सम्पदाहरु पुर्खाहरुले हामीलाई नासोको रुपमा सुम्पेर जानुभयो त्यसरी नै हामिले पनि नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लानुपर्छ । यो हाम्रो कर्तब्य पनि हो । हाम्रा यस्ता संस्कार संस्कृतिको अर्थ, महत्व र आवश्यकता बुझ्नुपर्छ र सबैलाई बुझाउनुपर्छ अनि व्यवहारमा ल्याउनुपर्छ भन्ने यस डकुमेन्ट्रीको उद्देश्य रहेको छ", उहाँले बताउनुभयो ।