काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
‘धरानको खानेपानी समस्या समाधान हुन्छ’ -खानेपानीमन्त्री प्रदीप यादव
यस्तै, खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताउनुभएको छ ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गर्नुभएको थियो ।
सो मागपत्र बुझ्दै मन्त्री यादवले भन्नुभयो, “धरानको खानेपानी समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ ।”
मन्त्री यादवले सो समस्या दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिनुभएको थियो ।
गर्मी सुरु भएकाले अहिले धरानमा खानेपानीको काकाकुल अवस्था सृजना भएकाले नागरिकलाई साह्रै दुःख भएको नगरप्रमुख राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको समस्या पहिलेदेखि थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा समस्या समाधनाका लागि बजेट माग गर्न आएका हौँ ।” (RSS)
---