काठमाडौं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।
११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने छ । र्याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्
कार्यक्रमको तयारीका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सदस्यहरू सहित करिब २,००० सुरक्षाकर्मीहरू कानून व्यवस्था सुनिश्चित गर्न खटाइनेछन्।सीसीटीभी क्यामेरा र ड्रोन प्रयोग गरेर निगरानी गरिने तयारी छ र अभद्र व्यवहारमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिनेछ ।
पार्टीले र्यालीमा ठूलो संख्यामा सहभागी हुने दाबी गरेको छ, जसमा काठमाडौं उपत्यका बाहिरका धेरै जना पनि सामेल हुने बताइएकाे छ ।