Kath Khabar
अछामको जयगढ बजारमा भीषण आगलागी

                       अछाम, चैत २७ । बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।

बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली खटिएको जनाइएको छ । साथै मङ्गलसेन नगरपालिकाको दमकल पनि खटाइएको छ ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । -सुशील भण्डारी/रासस
–––

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update