
बाजुरा, चैत २८ । बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ ।
चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताउनुभयो ।
घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ ।
वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् ।
हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ ।
---