ललितपुर, साउन २३ । अघिल्लो हप्ताको क्रमश:
“२०१३ सालमा ठहिंटीमा गएर सायद पहिलो पटक तुना बाँध्ने जुत्ता किनेको थिएँ । त्यो जुत्ता पनि म गोठालो बसेको दरबारकी सिता महारानीले दशैंमा चार रुपैयाँ बक्सिस दिनुभएको थियो, त्यही पैसाबाट किनेको थिँए ।” यो भनाई हो, ८३ वर्षिय बद्री प्रसाद हुमागाईँको ।
हुमागाईँ आझै भन्दै जानुभयो...
तलब त सात रुपैयाँ थियो। रामशमशेरको दरबार, देवशमशेरको छोरा, सीतामहारानी चाँहि भिम शमसेरको श्रीमती, दुबैतिर गैरहनुपथ्र्यो । साथीहरुसँग गएर किनेको जुत्ता त्यो । अनि अर्को खालको छालाको जुत्ताचाँही म पूर्विया सार्कीहरुले डोकोमा बेच्न ल्याउँथे । छालाको जुत्ता, छालाले नै सिलाएको, छालाकै तलुवा, एकान्ते जुत्ता भन्थे । एक रुपैयाँ, पाँच सुका पथ्र्यो । म गाई चराउने गोठालो थिए, त्यतिखेर । राणाहरुले बाहुन भनेपछि जूठो, फोहोर काम नलगाउने, भकारो सोर्नुपर्थ्यो । चार जनालाई दिनभरी लाग्थ्यो, काम त कति हो कति कहिल्यै नसकिने । गाई चराउन सानो गौचरण जानुपर्थ्यो। नक्साल, टङ्गाल, हाँडीगाऊँ, सबै दरबारले ढाकेको थियो । भाटभटेनीदेखि पद्म शमशेरको दरबारसम्म । उता बालुवाटारसम्म ।
दरबारमा दिने खानाको त के कुरा गर्नु ? हरे शिव ! मूत गन्हाउने उसिन्या चामल । पहेंला, भटमासका गेडा जत्रा, अनि दाल । खान त जति खाए नि दिन्थे तर खान नसकिने । भान्सालाई खलङ्गा भन्थे । गाईगोठ जस्तो टहरो । मुख्य दरबारभन्दा करिब एक किलोमिटर पर । भान्से बाहुन हुन्थे पकाउने अनि तरकारीहरु पकाउने जे छ त्यहि । एघार बजेपछि बाहुनले पित्तलको थाल, ट्वाङ, ट्वाङ, ट्वाङ गरेर बजाउँथे अनि हामी आफ्नो थाल र लोटामा पानी लिएर लाईन लाग्थ्यौं खानलाई । लोटामा पानी लानै पर्थ्यो, अनि त्यो पित्तलको थाल र लोटा टिलिक्क पारेर माझेको हुनुपर्थ्यो । नत्र भान्से बाहुनले ठटाउँथे । एउटा पित्तलको थाल र लोटा नाम लेखेर जिम्मा लगाईएको हुन्थ्यो । खाजाको चलन थिएन । त्यहिँ बिहान बेलुकाको भात हो ।
नानीहरु पनि टन्नै थिए । नाम पनि अलैँची नानी, दालचिनी नानी, सुकुमेल नानी, खुर्पाने नानी, पैस्ता नानी । हामीलाई छुँदैनथे । पर पर बस्नुपर्थ्यो । अब हामी त गोठाले, बगैंचे, पाले न हो । तिनीहरु चुरोट असाध्यै खान्थे । हामीले किनेर ल्याईदिनुपर्ने, हाँडीगाउँसम्म गएर । परैबाट मोहोर फालिदिने अनि ।
रुम्जाटारतिरका गुरुङ्गसेनी, काभ्रेपलाञ्चोकतिरका तामाङनीहरु । उल्टो हामीलाई देखेर घिनाउँथे । हामी त काम गर्ने त हो । उनीहरु त सेता हाँसका फूलजस्ता कुर्कुच्चा भएका, दिनभरी दरबारमै बस्ने । बाहिर खासै ननिस्कने, निस्कनै परेपनि बग्गीमा मोटरमा निस्कने । प्रायः राणाहरु सबैकोमा मोटर कार थियो । त्यहि बोकेर ल्याएर यहि पार्टपूर्जा जोडेका मोटर, मैतिदेवीका मिस्त्रीहरु थिए । बिहान बेलुकाको त्यस्तो भात नरुचे पनि बगैंचामा प्रशस्त फलफूल खाईन्थ्यो । टाठा बाठा साथीहरु १०/१२ जना थिए, उट्पट्याङहरु । अनि आँप, लिच्ची, अम्बा प्रशस्त खाईन्थ्यो । त्यो बेलाका त्यहाँका जस्ता लिच्ची त मैले इण्डियामा पनि देखिन । पछि म इण्डिया जाँदा मोजफ्फरपुरमा रेल छुट्यो अनि यसो घुमेको थिए । कलकत्ताबाट आउँदा त्यहाँ आँप चाहि गतिलो गतिलो देखियो ।
मोजफ्फरपुरमा एकदमै आँप र लिच्ची फल्ने प्रसिद्ध ठाँउ अनि कश्मिर स्याउको लागि प्रसिद्ध । इण्डियामा हेम सागर भन्छन्, हामी मालदह भन्छौं अनि अर्को आँप हुन्थ्यो, मारवाडीहरुले लँगडा आँप भन्छन् एकदमै नामी, रस निकाल्ने आँप । व्यापारीहरुको खै कस्तो ट्याकटिस फेरी कश्मीरकै त्यो स्याऊ ४ रुपैयाँ किलो छ तर कलकत्तामा ३ रुपैयाँ मात्र । मोजफ्फरपुरमा त्यो आँप २ रुपैयाँ किलो छ भने कलकत्तामा १ रुपैयाँ १.७५ रुपैयाँमात्र । लिच्ची त गज्जबका तर दरबारका जत्रा होईन ।
१२ ओटा चोकको दरबार टंगाल दरबार । एउटा चोकमा आँपैआँप, अर्कोमा चोकभरी लिच्ची, अर्कोमा अम्बामात्र । एउटा चोकमा सुन्तलै सुन्तला अनि अर्कोमा मुन्तलै मुन्तला । मुन्तला पनि जात जातका, किसिम किसिमका । त्यतिबेला दरबारमा फलेका फलफूलहरु त्यस्तै । त्यत्रै त इण्डियामा नि देखिन मैले । लिच्ची त यत्रायत्रा ठूला झण्डै एउटा गेडा १०० ग्रामको हुन्थ्यो होला । आजकलका लिच्ची त मलाई समाउन नि मन लाग्दैन । काला, चाउरी परेका, चिम्रिक्क परेका, लप्सी जत्रा ।
फाल्गुन चैत्र देखि असारसम्म खुब आँप खान्थ्यौं । अनि लिच्ची, मुन्तला, अम्बा । जनकपुरमा उता इण्डियामा आफ्नै जग्गाजमिन प्रशस्त राणाहरुको । सब फलफूल आँउदा आँउदै पनि अझै ति फलफूल बिदेशबाट हवाइजहाजमा आउँथ्यो । दिन्थे खानलाई हाम्लाई पनि । नत्र कुहिएर जान्थ्यो । फ्रिज त थियो दरबारमा । के थिएन र त्यतिबेला दरबारमा । माथि छतमा पानी ट्याङ्कीहरु पनि थिए । जुन चिज मैले पछि कलकत्तामा देखिन ।
छोरी, नातिनीहरु सबैलाई महारानी भन्नु पर्ने, छोरा नातीलाई राजाबाबु भन्नुपर्ने । अनि उनीहरु रानीसाहेब, नानी साहेब सबै माथि नै नुहाँउथे । जर्सापले बोलाउँदा, ‘प्रभु ! सरकार’ भनेर निहुरिएर बोल्नुपर्ने । उनीहरु पनि माथि नै नुहाँउथे । केटीहरु, सुसारेहरु चाहि बाहिर नुहाउँथे । बढो सोचेर बोल्नु पथ्र्यो । बोलाइ रहन्थे अनि प्रायः गाईकै कुरा गर्थे सबै गाईहरुको नाम थाहा थियो उनिहरुलाई ।
‘कृतिकाले कतिदुध दिन्छिन् ?आशा, चमेली, गङ्गा जमुनाले कति कति दिन्छिन् ? उषाले कतिकति दिन्छिन्’ ? ‘सरकार ! प्रभु २/३ माना’ । ‘किन घट्यो त ? राम्रोसँग भुषा खुवाइनस् कि ? हेर बिचार गरिनस् कि ? यस्तै सोध्थे । ‘जाडोमा अलि चर्दैनन् प्रभु, सरकार’ त्यसैले होला । हेरविचार त गरेको छु सरकार’ यस्तै जवाफ दिन्थौं ।
गोठ हेर्दा तनिक्कै ठूलो थियो । ३०/४०/१०० वटा थिए होलान् पहिले त । हाम्रो पालामा ८/१० वटा मात्र थिए । नयाँ बाच्छी जन्मेपछि देखाउन लानुपथ्र्यो । अनि कहिलेकाही गोठतिर आउँथे । लक्ष्मीपूजामा पूजा गरेर मोहोर चढाउँथे गाईको खुट्टामा । अनि उनिहरु गएपछि टिप्थ्यौं । मिठाई पनि खुवाउँथे अनि छोडेर जान्थे । हामी खान्थ्यौं त्यो पनि । पेडा, खजुरी, खाजा, जलेवीको ४ पैसा अनि खाजाको ८ पैसा । गहुँको पिठोको हुन्थ्यो त्यो खाजा ।
काजीहरुले पनि माया गर्थे । साइकल सिकाई दिए मलाई डिल्लीबजारमा । राणाजीहरुका श्रीमती जति सबैलाई रानी, सबैलाई रानी साहेब अनि रखैल जति सबैलाई नानी साहेब भन्नुपथ्र्यो । पछि नानीलाई छोडिदिए रामशमशेर जर्नेलले । छुट्टै राखिदिए अंश दिएर । गुरुङ्गनी थिइन रुम्जाटारकी । साह्रै हेला गरेर बोलाउथिन हाम्लाई । ए बद्री ! ए च्यान्टे ! भुन्टे भनेर साह्रै रुखो स्वरले बोलाउथिन् । यसो फेरी घाँस काट्दा डोको बोकेर जाँदा घाँस राम्रो देखियो भने बक्सिस पनि दिन्थिन बोलाएर । सबैभन्दा बढि बक्सिस हाम्रो गोबिन्दे भन्ने साथीले पाउँथ्यो । सबैको आ–आफ्नो जिम्मेवारी थियो । भाँडा माझ्नेलाई डोले भन्थे । बैठके अलग्गै अनि भण्डार कोठा मात्र हेर्ने भँगरे । गाईको दाना, चाकु, सख्खर, सागसब्जी, दाल, चामल, नून सबै उसैको खटन हुन्थ्यो ।
गाई सधै सफाहुन्थे । टाँड जस्तो गरी लामालामा काठका फल्याक बिछ्यार्ईको हुन्थ्यो । मूतजति सबै तर्केर उता पर खाल्डोमा जम्मा हुन्थ्यो । गोबर हामी सोहोरी रहन्थ्यौं । सोत्तर मज्जाले हालिन्थ्यो, हेरचाह गज्जबको थियो । आजकल त कसै–कसैले मात्र पाल्छन् गाईवस्तु । डँडाल्ना भरी गोबरै गोबर हुन्छ । खोलामा, धारामा लगेर पखाल्नुपर्छ । गतिलो हेरचाह नै छैन ।
हाम्रो आफ्नो घर त उहि के घर भन्नु र ! काँचो ईंटको दुईपाखे छाप्रो त हो । तल ढुङ्गाको जग हुन्थ्यो । त्यतिखेर ढुङ्गा प्रशस्त थियो । यहि गोदावरी खोलामा । किन्नु पर्दैनथ्यो । अहिले त ढुङ्गै छैन । घर बनाउनेहरुले एकदुई महिना अघिदेखि नै ढुङ्गा बोकाउँथे । १/२ फिट जग खन्थे खिल नभेटिएसम्म अनि २६ इञ्चको ढुङ्गाको गारो, त्यसपछि माथि २२ इञ्चको काँचो इट्टाको गारो । कोहीकोही धनीहरुले पक्की ईँटाको गारो पनि लगाउँथे । अवाल बनाएर पोलेर बनाउँथे इँट्टा । हामी गरिब गुरुवाहरुको त काँचो इट्टा नै हो ।अहिले त ढोका पनि ८/९ फिटका हुन्छन् , त्यतिखेर त ४/४.५० फिटको हुन्थ्यो, दलिन त्यस्तै होचो । पहाडतिर त खरले छाउँथे । यता हामी छ्वालीले छाउँथ्यौं नपुगे परालले । परालको छानो चाँही ४/५ वर्ष मात्रै टिक्थ्यो । छ्वालीको त ८/१० वर्ष टिक्थ्यो ।
८/१० सालतिर यतायहि टौंखेलमा २२/२३ घरमात्र थिए । घर त के भन्नु त्यहि छाप्रा । एउटा कुनामा गाई, अर्को कुनामा बाख्रा, एउटा कुनामा चुल्हो अनि अर्कोमा चोटामा जाने भर्याङ्ग । चारकुनामा चारथरी हुन्थ्यो। बीचमा अगेनो हुन्थ्यो त्यसको छेउमा मूल ओछ्यान् । ओछ्यान् भनेको नि त्यहि सुकुल फ्यात्त हालेको हुन्थ्यो । चुलोमा आमाले भात पकाउनु हुन्थ्यो । अनि खाजाचाहिँ अगेनोमा । चुलोको वरिपरि खोपाहरु हुन्थे । त्यहि मरमसला, जीरा मरिच, अदुवा, लसुन टिनका बट्टा सट्टामा राखिन्थ्यो । सिलौटो हुन्थ्यो, खोलाबाट ल्याएको च्प्लिो ढुङ्गो । त्यस्तो सिलौटामा पनि आमाले दशैंमा जिरामरिच, ल्वाङ्ग, सुकमेल, पिप्ला, सुठो, अलैँची, दालचिनी, जाइफल सब मिलाएर पिध्नुहुन्थ्यो । जाइफल हालेको मासु मिठो हुन्थ्यो, नहाली नहुने ।
(नोट : हुमागाईँका यि भोगाईका बाँकी अंश आगामी शनिवार यही स्तम्भमा प्रकाशन गर्ने छौं । )