Kath Khabar
हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँ : अभिनेता हरिवंश आचार्य


                        काठमाडौं, वैशाख ३ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उहाँले गम्भीरतापूर्वक लिनुहुन्छ र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्नुहुन्छ । उहाँले चलचित्र ‘भूठान’ मा नियमितभन्दा फरक अभिनय गर्नुभएको छ । अर्थात् चलचित्रभर हसाएको दृश्यमा उहाँ देखिनुहुन्न । चलचित्र ‘बलिदान’ पछि पूर्णतया गम्भीर पात्रमा आफू पहिलोपटक देखिएको अभिनेता आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने फिल्म अवधिभर एकपटक मात्र हाँसेको छु ।”

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै उहाँले सुरुमा कथाअनुसारको पात्र भएर बाँच्न कठिनाइ भएको स्मरण गर्नुभयो । किनकि उहाँले यस किसिमको पात्रको भूमिकामा रही अभिनय नगरेको धेरै भएको थियो । यद्यपि कथा र उठान गरिएको विषयवस्तुले भने अभिनेता आचार्यलाई लोभ्याएको थियो ।

“एउटा कलाकारले कहिले पनि राम्रो कथालाई छाड्न सक्दैन । फिल्ममा अभिनय गर्नेक्रममा निर्देशकले तपाईँ नेपाल जान नपाउने हुनुभयो भने के गर्नु हुन्छ, भनेर प्रश्न गरेपछि सुरुमा एकछिन अप्ठ्यारोमा परेँ । त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न भन्नुभयो, त्यही गरेँ । अहिले फर्केर हेर्दा राम्रै गरेँजस्तो लाग्छ”, अभिनेता आचार्यले स्प्ष्ट गर्नुभयो ।  

उहाँले चलचित्रमा भूठानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निर्वाह गर्नुभएको छ । उक्त व्यक्ति आफ्नै देशमा फर्किन चाहेन्थे तर नसकिरहेको घटनाक्रममा आधारित भई अभिनेता आचार्यले चलचित्रमा अभिनय गर्नुभएको छ ।

विनोद पौडेलले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता आचार्यसँगै हलिउड अभिनेता ब्रुस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डेलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र ‘भूठान’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शन हुने बताएको छ । (रासस)
–––

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update