Kath Khabar
लिटिल मिस एञ्जल र लिटल मास्टर नेपाल-२०२५ को आवेदन खुल्यो

                          काठमाडौं, वैशाख ७ ।  यहि जेष्ठ १० गते देखि शुरु हुन गइरहेको लिटिल मिस एञ्जल र लिटल मास्टर नेपाल- २०२५ को आवेदन खुलेको छ।

कलश इभेन्ट प्रालिले आयोजना गर्न लागेको लिटिल मिस एञ्जल छैठौं र लिटल मास्टर नेपालको तेश्रो संस्करण हो ।  यस प्रतियोगितामा ९ देखि १३ वर्षका बालबालिकाहरु भाग लिन सक्नेछन् ।

प्रतियोगिताका सहभागीहरूलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा (गुड टचरब्याड टच), ध्यान, योग ,पौडी,  ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता विषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराइने कलश इभेन्ट प्रा.लिका अध्यक्ष सञ्जय महर्जनले जानकारी दिनुभयो । 

यस वर्षको हरेक कार्यक्रम विशेष तरिकाबाट प्रस्तुत् गरिने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल कै उत्कृष्ट दुई बृहत बालबालिकाहरुको एक्सक्लुसिभ ग्रुमिङ सेसन एउटै मञ्चमा हुनेछ ।

कार्यक्रममा व्यावसायिक प्रसिद्ध फोटोग्राफरद्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिइनुका साथै तालिम अवधिभर खाजाको व्यवस्था गरिएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । 

आवेदन शुल्क ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एञ्जल नेपाल छापिएको टी-सर्ट प्राप्त गर्नेछन् । रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई  नगद पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ।

जेठ ७ गते आइतबारबाट सुरु हुने तालिम बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ भने ग्राण्ड फिनाले जेठ ३१ गते सांस्कृतिक संस्थान नाचघर जमलमा हुनेछ ।    
 

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update