Kath khabar
खरिद गरेर ल्याएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेन रेल, मिति तय गर्न सकस

काठमाडौं, साउन २४ । रेल सञ्चालनका लागि सरकारले चासो नदिदा एक वर्ष यतादेखि खरिद गरेर ल्याएको रेल घुम्टो ओडाएर राखिएको छ । सरकारले यसको सञ्चालनका लागि मिति अहिलेसम्म तय गर्न सकेको छैन ।

एक वर्ष अघि जनकपुर–जनयनगर रेलवेका लागि इन्जिन र बोगी सहितको रेल ल्याएपछि खुशीयाली छाएको थियो । तर, यात्रु बोक्नु पर्ने ती दुवै रेल अहिले  सञ्चाचलन गर्नुको साटो भारतसँगको सीमावर्ती क्षेत्र इनर्वामा सशस्त्र प्रहरीको सुरक्षा घेरामा  घुम्टो ओडाएर राखिएको छ ।

रेल सञ्चालनका लागि आवश्यक कर्मचारीको व्यवस्थापन पनि भईसकेको छ । तर सरकारले रेल सञ्चालन कहिले गर्ने त्यसको मिति सरकारले महामारीका कारण टुंगो लगाउन सकेको छैन ।

जनकपुर-जनयनगर गुड्ने रेलको लिक लगायत भौतिक पूर्वाधार पुरा भइसकेका  छन् । नेरोगेजलाई बिस्थापित गरि ब्रोडगेज रेल सञ्चालनका लागि निर्माण पुरा भएको २ वर्ष पछि जनकपुर-जनयनगर रेलवे लिकको प्राबिधिक परिक्षण गत साउन ३ गते गरिएको थियो ।

भारत पूर्वी केन्द्रिय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटरको गतिमा जयनगर देखि कुर्था जनकपुर आएको थियो भने जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटरको गतिमा जयनगर फर्किएको थियो ।

जनकपुरको कुर्थादेखि जयनगर सम्मको ३५ किलोमिटरको दुरी २३ मिनटमा पुरा गरेको थियो । जयनगरदेखि जनकपुर हुँदै बार्दिबास सम्म सञ्चालनका लागि गएको असोज २ गते भारतबाट ल्याइएको दुई सेट डेमो रेल जयनगर-बर्दिबास ६९ किलोमिटर दूरी मध्ये पहिलो चरणमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालनगर्ने तयारी छ ।

रेल सञ्चालन गर्न संघीय सरकारबाट बेवास्ता भएको प्रदेश सरकारको भनाई छ । भारतसंग ८४ करोडमा खरिद गरिएको रेलले एक पटकमा करिव १२ सय यात्रु बोक्ने क्षमता राख्छ । १९९४ देखि सञ्चालन भएको जनकपुर-जयनगर रेल सेवा स्तरोनन्तीका लागि सात वर्षअघिदेखि बन्द छ । स्तरोन्नतीको काम सकिएपनि यसलाई अहिले सञ्चालनमा ल्याउन सकस परेको छ ।

करोडौ मूल्य तिरेर ल्याएको रेल घुम्टो ओडाएर राख्दा यसले आर्थिक क्षति पुराएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update