
काठमाडौं, वैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । आज मंगबार बिहान ८ बजे कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो, साेहि बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरूको जारी आन्दोलनले परीक्षा हुने नहुने अन्योल भइरहेका बेला सरकारले परीक्षा नसर्ने स्पष्ट पारेको हो । वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।
बोर्डले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । बैठकमा परीक्षा सञ्चालनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने विषयमा छलफल भएको छ ।