
काठमाडौं, वैशाख १० । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको घातक आतंकवादी हमलामा मारिएका २७ जनामध्ये एक नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार आक्रमणमा मारिएका न्यौपाने उनकी आमासहित चार नेपालीहरू घटनाको समयमा उक्त स्थानमा घुम्न गएका थिए । उनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको बताइएको छ ।
भारतीय पर्यटकहरूलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा संयुक्त अरब इमिरेट्स (युएई) का एक नागरिकको पनि मृत्यु भएको बताइएको छ भने बाँकी पीडितहरू सबै भारतीय नागरिक रहेको द टाइम्स अफ इन्डियाले जनाएको छ।
पहलगाम पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।