Kath Khabar
आज १९औँ लोकतन्त्र दिवस

                      काठमाडौं, वैशाख १० । आज १९औँ लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइँदैछ । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । दुई दर्जन बढीको ज्यान गएको जनआन्दोलनका कारण वि.सं. २०६३ वैशाख ११ गते तत्कालिन राजा शाह संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । तत्कालिन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए । नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौंं शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।  विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । कसैले यसलाई नेपाली म्याग्नाकार्टा पनि भने ।  यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।  

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update